मंगलबार २९ पुस, २०८२

५ महिनामा ५.७ प्रतिशतले बढ्यो सेयर धितो कर्जा

५ महिनामा ५.७ प्रतिशतले बढ्यो सेयर धितो कर्जा

काठमाडौं । धितोपत्र बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा)मा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कुल कर्जाको आकार १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेको छ ।   

गत वर्ष साउनमा  ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको यस्तो कर्जा चालु वर्षको मङ्सिरसम्म आइपुग्दा करिब ६४ प्रतिशतले वृद्धि भएको छ। कुल प्रवाहित १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कर्जामध्ये १ करोड रुपैयाँ भन्दा माथिको कर्जाको हिस्सा मात्रै १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ रहेको छ। यो कुल सेयर धितो कर्जाको करिब ७० प्रतिशत हुन आउँछ। पछिल्लो पाँच महिनाको अवधिमा मात्रै १ करोडभन्दा माथिको कर्जा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँले थपिएको छ। 

तथ्याकं अनुसार मध्यम वर्गीय र साना लगानीकर्ताको ऋण लिने प्रवृत्ति पनि क्रमिक रूपमा बढ्दो छ। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ। यो समूहको कर्जा पछिल्लो पाँच महिनामा सबैभन्दा उच्च ११.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.३ प्रतिशत थियो।

त्यसैगरी,२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ प्रवाह भएको छ। यस समूहमा पाँच महिनाको अवधिमा ७१ करोड ५८ लाख रुपैयाँ कर्जा थपिएको छ। सबैभन्दा साना लगानीकर्ता, जसले २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा लिएका छन्, उनीहरूको कुल कर्जा मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यो समूहमा ६.७ प्रतिशतको वृद्धि देखिएको छ, जुन अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा केही बढी हो।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सेयर धितो कर्जा ५.७ प्रतिशतको वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा पाँच महिनामा मात्रै कुल ८ अर्ब ८ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। त्यसमध्ये २ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ मंसिरमा प्रवाह भएको हो।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा (क्याप) मा गरेको परिमार्जन र बैंकहरूमा रहेको पर्याप्त तरलताका कारण ब्याजदर सस्तिएकाले लगानीकर्ताहरू कर्जातर्फ आकर्षित भएका हुन्।