नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन
काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।
साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।
साथै, बैंकको सञ्चालक समितिको ६९९औँ बैठकले अध्यक्षमा सञ्चालक निर्वाणकुमार चौधरीलाई चयन गरेको छ । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण पश्चात उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
यसैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । पौडैल नेतृत्वमा विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउन महत्वपूर्ण भूमिका निभाएको बैंकको भनाइ छ ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम सेवा प्रदान गर्दै आएको छ । नबिलले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइँदै आएको छ ।
