सिन्धुपाल्चोकमा ८४ वर्षीया लालकुमारीलाई नागरिकता प्रदान
चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज ८४ बर्षिया जेष्ठ नागरिक लालकुमारी श्रेष्ठलाई नागरिकता प्रदान गरेको छ ।
गतसाता मात्रै जिम्मेवारी सम्हाल्न आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाह्रविसे नगरपालिका वडा नं ४ पलाँतीकी जेष्ठ नागरिक श्रेष्ठलाई नागरिकता प्रदान गरेका हुन् ।
विस. १९९९ साल असोज १६ गते आमा रत्नकुमारी र बाबु इन्द्रविरश्रेष्ठबाट जन्मिएकी लालकुमारीले थाहा नै नपाइ नेपालमा विभिन्न शासन व्यवस्था र संविधान नै फेरियो । धेरैले धेरै कुराहरु प्राप्त गरे तर श्रेष्ठले देशमा गणतन्त्र आएको १७ वर्षपछि आफ्नो नामको नेपाली नागरिक लेखिएको कागज हातमा पाइन् ।
लालकुमारीले ६ महिनाको हुँदा आमा र १५ महिनाको हुँदा बाबु गुमाएकी थिइन् । त्यसपछि उनले राज्य के हो,अधिकार के हो भन्ने बुझ्ने, सिक्ने अवसर नै पाइनन्। वि स २०१८ सालमा उनको विवाह भयो ।
वि सं २०३० सालमा श्रीमानको मृत्यु भयो । लालकुमारी काठमाडौं लगायतका ठाँउमा ज्याला मजदुरी गरी छोरा छोरी हुर्काएको पीडा सम्झन्छिन् । फेरि फर्केर गाउँ गएकी उनले ८४ वर्षको उमेरमा पनि उनी अरुको खेतबारी र घरधन्दा गरेरै जिविकोपार्जन गरिरहेकि छिन् ।
अस्पताल नै नदेखेकी, सरकारी कार्यालयको आँगन नटेकेकि उनले नागरिकता किन चाहिन्छ भन्ने कुरा ८४ वर्षको उमेरमा बुझिन् तर प्रशासनिक प्रक्रिया निकै जटिल थियो।
२०८२ भदौ ३० गते नागरिकताका लागि निवेदन दिएकी थिइन् । तर उनीको नाम अभिलेखमा कँहिकँतै नभएकोले अदालत जान सुझाव दिइयो । तरपनि हार नखाइ निरन्तर प्रयास पछि उनले स्थानीय सहजकर्ताहरुको सहयोगमा आज सिन्धुपाल्चोकको सदरमुकाम चौतारावाट नागरिकता प्राप्त गरिन् ।
यस कार्यमा रामकुमार पाठक, ददिराम पराजुली, पुरुषोतम कार्की, सुकदेव तिमिल्सिना,अशोक पराजुलीको निरन्तर पहल र अधिवक्ता सुष्मा गिरीको कानुनी सक्रियताले यो विषय निर्णायक मोडमा पुग्न सफल भएको मुख्य सहयोगी गोविन्द पाठकले जानकारी दिए ।
