पाँच महिनामा अन्तर–बैंक कारोबार चार खर्ब १७ अर्ब
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा हुने अल्पकालीन अवधिको कारोबार घटेको छ । यसलाई अन्तरबैंक कारोबार भनिन्छ । पछिल्लो समय कर्जाको माग घट्दा बैंकिङ क्षेत्रमा अधिक तरलता बढेको छ । यही कारण अन्तरबैंक कारोबारमा कमी आएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका कुल ५४ वटा संस्थाहरूले ४ खर्ब १७ अर्ब रुपैयाँबराबरको मात्र अन्तरबैंक कारोबार गरेका छन् । यीमध्ये वाणिज्य बैंकहरूको ३ खर्ब ४४ अर्ब ७१ करोड र अन्य विकास बैंक र फाइनान्स कम्पनीहरूले ७२ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेका छन् । यो कारोबार रकम गत आवको सोही अवधिको तुलनामा दुई खर्ब ७० अर्ब ३६ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले छ खर्ब आठ अर्ब ५५ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले ७८ अर्ब ८१ करोड रुपैयाँ समेत गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबार घटे पनि यसको असर ब्याजदरमा पनि परेको छ । सोअनुसार २०८१ मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८५ प्रतिशत रहेकोमा २०८२ मंसिरमा उक्त दर २.३७ प्रतिशत रहेको छ । बैंक तथा फाइनान्स कम्पनीबीचको भारित औसत अन्तरबैंक दर २०८१ मंसिरमा तीन प्रतिशत रहेकोमा २०८२ मंसिरमा २.७४ प्रतिशत रहेको छ । गत मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.३८ प्रतिशत, विकास बैंकहरूको ७.६० प्रतिशत र फाइनान्स कम्पनीहरूको ८.१९ प्रतिशत रहेको छ ।
२०८१ मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ८२ प्रतिशत, विकास बैंकहरूको ८.६५ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.७७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुुसार २०८२ मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत, विकास बैंकहरूको ४.२१ प्रतिशत र फाइनान्स कम्पनीहरूको ५.३१ प्रतिशत रहेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकहरूको ५.७५ प्रतिशत र फाइनान्स कम्पनीहरूको ६.७० प्रतिशत रहेको थियो ।
त्यसैगरी, गत मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत, विकास बैंकहरूको ८.४९ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.९१ प्रतिशत रहेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरूको १०.२६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११.४८ प्रतिशत रहेको राष्ट्र बैंंकको भनाइ छ ।
