शुक्रबार ०२ माघ, २०८२

काल्पनिक दुर्घटना खडा गरी बीमा ठगी, प्रहरी र इन्स्योरेन्सका कर्मचारीसहित ३१ जनाविरुद्ध मुद्दा

काल्पनिक दुर्घटना खडा गरी बीमा ठगी, प्रहरी र इन्स्योरेन्सका कर्मचारीसहित ३१ जनाविरुद्ध मुद्दा

काठमाडौं । काल्पनिक दुर्घटना खडा गरी प्रहरीसमेतको मिलेमतोमा बिमा कम्पनीलाई ठगी गरेको भेटिएको छ । ठगी गिरोहमा आबद्ध बिमा कम्पनीकै कर्मचारी र प्रहरीसहित ३१ जनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएपछि यस्तो तथ्य खुलेको हो ।

दुर्घटनासम्बन्धी प्रहरीको नक्कली पत्र बनाएर नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई ठगी भएको हो । सो कम्पनीका कर्मचारी बिकेश कुँवर, प्रहरी हवल्दार धुव्र शाहीलगायतविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले लिखत किर्ते मुद्दा दायर गरेको हो । 

सरकारी वकिल कार्यालयको अभियोगपत्रअनुसार उनीहरूले २९ वटा काल्पनिक दुर्घटना खडा प्रहरीको नक्कली पत्र बनाएका थिए । त्यसमध्ये २७ वटा पत्रअनुसार तीन लाख रुपैयाँका दरले ८१ लाख रुपैयाँ बिमा भुक्तानी लिइसकेका थिए । ठगीका योजनाकार पर्सा घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ४४ वर्षीय हरि बुढाथोकी हुन् । मुद्दा दायर गरिएका ३१ मध्ये बस व्यवसायी बस्नेतलाई मात्र प्रहरीले पक्राउ गरी उपस्थित गराएको छ ।

उनको बयानमा भनिएको छ, ‘म जीविकोपार्जनका लागि बा२ख ७८१४ नम्बरको मिनिबस खरिद गरी गाडीमा ड्राइभर राखी चलाउन दिँदै आएको छु । सोही क्रममा नेपाल माइक्रो इन्स्यारेन्स फाइनान्सका कर्मचारी बिकेश कुँवरसँग एक वर्षअघि इन्स्योरेन्सकै सिलसिलामा चिनजान भएको थियो । निजसँग मेरो सल्लाह भई काल्पनिक दुर्घटना देखाई बिमा दाबी गर्ने योजना बनाएका थियौँ ।’

दुर्घटनाको सिफारिसका लागि हवल्दार धुव्र शाहीसँग उनीहरूले सेटिङ मिलाएका थिए । शाहीले प्रहरी वृत्त बानेश्वरका श्याम खनालको हस्ताक्षर भएको दुर्घटनासम्बन्धी सिफारिस बनाइदिने गरेका थिए । ठ्याक्कै प्रहरीले नै लेख्ने शैलीमा पत्र बिमा कम्पनी पुग्थ्यो र नक्कली दुर्घटनाको बिमा रकम भुक्तानी हुँदै आएको थियो । पछि शंका लागेर कम्पनीले प्रहरीमा उजुरी गर्दा सबै पत्र नक्कली भएको खुलेको थियो । तर, बिमाका कर्मचारी कुँवर र हवल्दार शाही पक्राउ नपर्दा यसमा संलग्न थप व्यक्तिबारेमा खुल्न सकेको छैन ।

मुख्य आरोपी बुढाथोकीले विभिन्न व्यक्तिको ब्लु–बुक र बैंक खाता नम्बर दुरुपयोग गरेको भेटिएको छ । उनीहरूको पनि मिलेमतो रहेको भन्दै प्रहरीले प्रतिवादी बनाएको छ । जसमा मनोज आचार्य, गंगा महर्जन, सुसन घिमिरे, कृष्णबहादुर महर्जन, प्रवीण महर्जन, निरुसा महर्जन, विनोद डंगोल, पुकार महर्जन, निरोज महर्जन, सुशील अर्याल, दयानाथ धिताल, जबिर हुसेन अन्सारी छन् ।

त्यस्तै, सुजन पाण्डे, हरिप्रसाद गौतम, सुदीप कार्की, सुमित्रा अर्याल, प्रजुना भण्डारी, जयराम चापागाईं, रामेश्वरी भण्डारी, निरबहादुर बुढाथोकी, शिव खड्का, गौरीबहादुर बुढाथोकी, खिनबहादुर थपलिया, उर्मिला थापा, सफल सुवेदी, लक्षण तामाङ, पवन भट्ट, रामबहादुर कार्कीको पनि मिलेमतो रहेको भन्दै फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।