शुक्रबार ०२ माघ, २०८२

'सद्‍भाव खलल पुर्‍याउने एसएमएस पठाइएमा सम्झौता रद्द हुन सक्छ'

'सद्‍भाव खलल पुर्‍याउने एसएमएस पठाइएमा सम्झौता रद्द हुन सक्छ'

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने प्रकृतिका एसएमएस सन्देश प्रवाह नगर्न सम्बद्ध सेवा प्रदायकलाई सचेत गराएको छ ।

टेलिकमसँग सम्झौता गरेर विभिन्न भ्यालु एडेड सर्भिस सेवा प्रदायकले एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देश सेवाग्राहीसमक्ष पठाउँछन् । एक विज्ञप्ति जारी गर्दै टेलिकमले भ्यालु एडेड सर्भिस सेवा प्रदायकलाई सचेत गराएको हो ।

‘जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने कार्य पुनः दोहोर्‍याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्ष बीचको सम्झौता नै रद्द गर्न सकिने छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

सेवा प्रदायकले नै सेवाग्राहीको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन् । ‘यसका लागि नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउने गरेको छैन’ टेलिकमले भनेको छ ।

यसअघि एक व्यक्तिले संघीयताविरोधी प्रदर्शनका लागि उत्रिन भन्दै ठूलो संख्यामा एसएमएस गरेपछि यसले टेलिकम क्षेत्रमा एउटा तरंग ल्याएको छ । यसरी एसएमएस गर्ने व्यक्तिमाथि प्रहरीले छानबिन गरिरहेको छ ।

हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसाय भन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरमा समेत प्रवाह गरेको र यस सम्बन्धमा सेवाग्राही तथा राज्यको जिम्मेवार निकायहरुबाट समेत गुनासो प्राप्त भएको टेलिकमले जनाएको छ ।