पैसा थुप्रिँदा ब्याजदर दबाबमा, ११ बैङ्कले घटाए निक्षेप ब्याजदर
काठमाडौँ । तरलता बढ्दै गएको र कर्जा प्रवाह अपेक्षाअनुसार नबढेपछि वाणिज्य बैङ्कहरूले माघ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्।
माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक ब्याजदर सूचीअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये ११ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सात बैङ्कले ब्याजदर यथावत् राख्दा प्राइम कमर्सियल बैङ्कले भने ब्याजदर बढाएको छ।
पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेकामा माघमा घटेर ४.६८४५ प्रतिशतमा झरेको छ। यस अवधिमा औसत ब्याजदर ०.१५ प्रतिशत विन्दुले घटेको हो।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैङ्कले ५.५ प्रतिशत दिने घोषणा गरेको छ भने सबैभन्दा कम ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.३६ प्रतिशत तोकेको छ।
ब्याजदर घटाउने बैङ्कहरूमा कृषि विकास, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ«े, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैङ्क छन्।
यस्तै, पुसकै ब्याजदर यथावत् राख्ने बैङ्कहरूमा नेपाल बैङ्क, एनआइसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैङ्क रहेका छन्। प्राइम कमर्सियल बैङ्कले भने पुसको ४.२५ प्रतिशतबाट बढाएर ४.४ प्रतिशत पुर्याएको छ।
हाल बैङ्किङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीयोग्य रकम थुप्रिएको छ। कर्जा माग कमजोर रहेपछि बैङ्कहरूले अतिरिक्त रकम २.६७ देखि तीन प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैङ्कमा राखिरहेका छन्।
राष्ट्र बैङ्कले पछिल्लो समय विभिन्न मौद्रिक उपकरण प्रयोग गरी प्रणालीबाट तरलता खिच्दै आएको छ। यसरी हालसम्म राष्ट्र बैङ्कमा जम्मा गरिएको रकम नौ खर्ब रुपैयाँ नजिक पुगेको छ।
