वैदेशिक अध्ययनको नाममा करोडौँ ठगी, पाँच जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौँ । वैदेशिक अध्ययनका लागि विभिन्न देश पठाइदिने भन्दै विद्यार्थीहरूबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
पक्राउ पर्नेहरूमा बेस्ट पाथ एजुकेसनका कृष्ण थापा, मर्सी एजुकेसन कन्सल्टेन्सीका रामचन्द्र टण्डन, सिटीहब एजुकेसन नेटवर्कका सुवाश सिलवाल क्षेत्री तथा कान्तिपुर अब्रोड कन्सल्टेन्टका सञ्चालकद्वय हेमराज भट्ट र दामोदर ढकाल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले वैदेशिक अध्ययनका नाममा संगठित रूपमा ठगी गरेको खुलेको छ।
अनुसन्धानका क्रममा ती कन्सल्टेन्सीहरूले विद्यार्थीलाई फ्रान्स र अस्ट्रेलियाका विश्वविद्यालयबाट मान्यता प्राप्त युएई (UAE) का कलेजहरूमा ‘क्रेडिट ट्रान्सफर’ हुने प्रलोभन देखाएको पाइएको छ। तर, व्यवहारमा भने उनीहरूले युएईको उच्च शिक्षा मन्त्रालय (MOHESR) वा कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट स्वीकृति नपाएका तालिम केन्द्रहरूमा विद्यार्थी पठाएको खुलेको छ।
प्रहरीका अनुसार प्रति विद्यार्थी ८ लाखदेखि २२ लाख रुपैयाँसम्म असुल गरिएको छ। हालसम्म १३ जना पीडितले ब्यूरोमा जाहेरी दिएका छन्। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको CIB ले जनाएको छ।
ब्यूरोले वैदेशिक अध्ययनका लागि जाने तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई सम्बन्धित शिक्षण संस्था र कन्सल्टेन्सीको आधिकारिकता यकिन गरेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
