श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्ट पक्राउ
कञ्चनपुर, १८ मंसिर । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका एक उपप्राध्यापक पक्राउ परेका छन् ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार, भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।
जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
श्रीमान्को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको जोशीले बताए । जयन्तीका श्रीमान् मर्निङ ग्लोरी स्कुलका सञ्चालक समेत हुन् । पारिवारिक विवादको विषयलाई लिएर श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।