२६ वटा ल्यापटपसहित श्रृंखलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ
काठमाडौं, १८ मंसिर । ललितपुरको विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गरेको आरोपमा समूहका दुई सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोबहादुर थलाल छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिकाको ३, ४, १० र १५ वडाका विभिन्न ठाउँमा विभिन्न मितिमा ल्यापटप चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो । कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी हुने गरेको थियो ।
त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनीहरुलाई हिरासतमा लिएको हो । ललितपुरका एसएसपी शेखर खनालका अनुसार, हाल पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति हुन् ।
त्यसैगरी यसअघि थलालविरुद्ध काठमाडौंबाट १ पटक चोरीको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीहरूबाट २६ थान चोरीका ल्यापटप प्रहरीले बरामद समेत गरेको छ ।