साढे ५ किलो सुन प्रकरण: ३ जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
काठमाडौं, १८ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत गरिएको ५ किलो ७ सय ग्राम सुन तस्करी घटनामा हिरासतमा लिइएका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
आज (मंगलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले पक्राउ भएका एक चिनियाँ र दुई म्यानमारका नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
चिनियाँ नागरिक जियान योङ र म्यानमारका साट नेइङ टन र इङ ङोन फूलाई अदालतको आदेशसँगै कारागार चलान गरिएको छ ।
उनीहरूलाई अदालतमा उपस्थित गराइएकाले अब कारागार चलान गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता लोकराज ढुंगानाले बताए ।
भन्सार कार्यालयले उनीहरूविरुद्ध सुन भन्सार चोरी पैठारीको कसुरमा ८ करोड भन्दा बढी बिगो मागदाबीसहित मुद्दा हालेको थियो । १६ मंसिरमा दायर गरिएको मुद्दा तीन दिनको सुनुवाइपछि मंगलबार आदेश जारी भएको हो ।