देउवालाई प्रश्न- तपाईंको उत्तराधिकारी गगन थापा हो ?
विराटनगर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने प्रतिक्रिया दिएका छन् । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका देउवाले सञ्चारकर्मीहरुलाई उक्त जवाफ दिएका हुन् ।
'तपाईंको उत्तराधिकारी गगन थापा हो ?' भनेर सञ्चारकर्मीले सोधेका थिए । जवाफ दिँदै देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’
संविधान संशोधनको विषयमा सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् । ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको बताउँदै देउवाले ओलीलाई धन्यवाद समेत दिए ।
नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले आफूलाई जानकारी नभएको बताए ।