ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै झापामा रास्वपा कार्यकर्ता प्रहरीको नियन्त्रणमा
काठमाडौं, २३ मंसिर । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो ।
करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको र केही समयपछि उनीहरूलाई छाडिने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
अहिले जिल्ला प्रहरी कार्यालय झापामा झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १०/१२ जनालाई नियन्त्रणमा लिएर राखिएको उनले बताए ।
आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए । दुई दिनका लागि आइतबार प्रधानमन्त्री ओली गृहजिल्ला झापा गएका छन् ।