दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रे गर्न सुरु
भोजपुर, २२ माघ । भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रे सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।
दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआईपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।
शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताए । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहज हुनेछ ।