डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
![डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/gobre%2520chyau%2520utpadan%25201_BgLBiM6eZr_sjgqou31rwyshducthjfw9ep0jdcqzqvhtlnexnp5g5x5um8jgkhxf36bfz2_dJZELgqWHU_qw9g9czrncycucjgqpnv2islpnrco3h4qfcumbkcfnyauhq8kpvjr64yxibq.jpg)
डोटी, २२ माघ । दिपायल सिलगढी नगरपालिका-५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् ।
उनले दिपायल सिलगढी-५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलो पटक च्याउ खेती थालनी गरेका छन् ।
कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको पनि खेती गरेका छन् । किसान शाहीले यस पटक दुई सय पोका च्याउ राखेका छन् । उनले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताएका छन् । उनले भने, “प्रतिकिलो रु. ५० का दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बीउ धनगढीबाट ल्याएँ । च्याउ उत्पादन सुरु हुञ्जेलसम्म रु. दुई लाख लागत लागेको छ ।”
उनका अनुसार गोब्रे च्याउ खेती गर्न अन्य च्याउको भन्दा अलि बढी मेहनत लाग्ने शाहीले बताए । कृषि जुटिएको पढाइ गरेका उनले गोब्रे च्याउ खेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने र यो च्याउ खेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुने बताए । उनका अनुसार पोका खोलिसकेपछि नियमित पानी दिने तथा तापक्रमको ख्याल गर्नुपर्छ । उनले भने, “आजभोलि दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारी गरेको छु ।” गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो रु. चार सय छ ।
गोब्रे च्याउको खेतीका लागि ज्ञान केन्द्रले किसान शाहीलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ । गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए । पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउ खेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेको उनले बताए ।
गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत परिकारका बन्ने गर्छन् । अब जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि यहाँका होटल तथा रेष्टुराँमा खपत हुने निमित्त प्रमुख अवस्थीको विश्वास छ । यो वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउ खेती गर्ने किसानलाई दिइने सहयोगमा निरन्तरता दिइने उनले बताए ।