बुधबार २३ माघ, २०८१

रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिलमाथि छानबिन

रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिलमाथि छानबिन

चितवन, २३ माघ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले छानबिन समिति गठन गरेको छ ।

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेमाथिको अभियोजनमा त्रुटि गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाईमाथि छानबिन थालिएको हो ।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा, सह न्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति बनाएको छ । सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

तर, सरकारी वकिलले लामिछानेविरुद्ध संगठित अपराधमा नगरी ठगी मुद्दामा मात्र मुद्दा दर्ता गरेपछि हिजो साँझ नै जिल्ला न्यायाधिवक्ता लुइँटेललाई चितवनबाट सरुवा गरिएको थियो । लुइँटेलको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका न्यायाधिवक्ता रवि न्यापाने चितवन आइपुगेका छन् ।

लुइँटेल जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा कार्यरत रहेको डेढ वर्ष पुगेको थियो । उनी २०८० कार्तिक २० मा चितवनमा हाजिर भएर काम सुरु गरेका थिए । सामान्यतया जिल्ला न्यायाधिवक्ताको २ वर्षमा सरुवा हुने गर्छ ।